पाल्पामा स्वर्गीय रामचन्द्र पाठकप्रति नेपाली कांग्रेसद्वारा श्रद्धाञ्जली सभा

पाल्पा — स्वर्गीय रामचन्द्र पाठकको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै नेपाली कांग्रेस पाल्पाले श्रद्धा र सम्मानका साथ एक भावपूर्ण श्रद्धाञ्जली सभा आयोजना गरेको छ । उक्त अवसरमा उपस्थित सम्पूर्ण नेतागण तथा सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । श्रद्धाञ्जली सभामा लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको प्रमुख आतिथ्यता रहेको थियो । आफ्नो मन्तव्यका क्रममा उहाँले स्वर्गीय पाठकको व्यक्तित्व र योगदानको उच्च मूल्यांकन गर्दै उहाँको निधनले पार्टी मात्र नभई समग्र समाजलाई नै अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो । उहाँले पाठकजस्तो इमानदार, निष्ठावान् र समर्पित व्यक्तित्वको अभाव सधैं खड्किरहने बताउँदै उहाँका आदर्श, मूल्य र सिद्धान्तलाई अनुसरण गर्दै अगाडि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा सह–महामन्त्री निमा गिरि, जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य शान्ति तिमिल्सिना, जिल्ला सल्लाहकार खड्क बहादुर कुँवर, पूर्व पार्टी सचिव माधव नेपाल, क्षेत्र नम्बर १ का सभापति झमनराज मगर, क्षेत्र नम्बर २ का सचिव कृष्ण आले, नेपाल विद्यार्थी संघका नेता प्रियकर मुनि शाक्य लगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले स्वर्गीय पाठकको सरल, विनम्र तथा सेवाभावी स्वभावको प्रशंसा गर्दै उहाँले समाज र संगठनमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने बताउनुभएको थियो  । उहाहरूले स्वर्गीय पाठकले पार्टी संगठन सुदृढीकरण, सामाजिक एकता तथा जनसेवाका क्षेत्रमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको चर्चा गर्दै उहाँको जीवनबाट प्रेरणा लिएर अगाडि बढ्नु सबैको दायित्व भएकोमा जोड दिनुभएको  थियो । साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्न आग्रह गर्दै पार्टी सधैं साथमा रहने विश्वास व्यक्त गरिएको थियो ।

 

कार्यक्रम नेपाल तरुण दल पाल्पाका सदस्य सुमन पछाईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने नेपाली कांग्रेस रम्भा गाउँपालिका वडा नं. १ का सभापति विष्णु पछाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त श्रद्धाञ्जली सभा मौनधारण, श्रद्धासुमन अर्पण तथा समवेदना व्यक्त गर्दै अत्यन्त भावुक र मर्यादित वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी सम्पूर्णले स्वर्गीय रामचन्द्र पाठकप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभए को थियो । 

Comments