आगामी शनिबार १६ गते टुँडिखेलमा “महिनावारी मेला” आयोजना हुँदै !
पाल्पा- रोट्याक्ट क्लब अफ लुम्बिनी मेडिकल कलेजको आयोजनामा “प्रोजेक्ट रजस्वला” अन्तर्गत “महिनावारी मेला” आयोजना हुने भएको छ । महिला स्वास्थ्य, महिनावारीसम्बन्धी सचेतना तथा किशोरीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार मेला आगामी शनिबार १६ गते टुँडिखेलमा सञ्चालन हुनेछ । मेलामा ७ वर्षभन्दा माथिका विद्यालयका बालबालिकालाई सहभागी गराइनेछ । विशेषगरी किशोरीहरूमा महिनावारीसम्बन्धी सही जानकारी अभिवृद्धि गर्ने, सामाजिक भ्रम तथा विभेद हटाउने तथा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै रोट्याक्ट क्लब अफ लुम्बिनी मेडिकल कलेजका अध्यक्ष आशुतोष भुषालले समाजमा अझै पनि महिनावारीलाई लाज र संकोचको विषयका रूपमा हेरिने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार मेलामा स्वास्थ्य शिक्षा, अन्तरक्रिया, परामर्श, मनोरञ्जनात्मक गतिविधि तथा सचेतनामूलक प्रस्तुति समावेश गरिनेछ । अध्यक्ष भुषालले विद्यालय तहदेखि नै बालबालिकालाई महिनावारीसम्बन्धी सही जानकारी दिन सके समाजमा रहेका गलत धारणा हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने बुझाइ विस्तार गर्न तथा बालबालिकामा सकारात्मक सोच विकास गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ,” उहाँले भन्नुभयो । मेलामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा स्वास्थ्यसम्बन्धी जानकारीमूलक स्टल, सरसफाइ तथा पोषणसम्बन्धी सामग्री प्रदर्शन, प्रश्नोत्तर तथा सचेतनामूलक खेलहरू पनि समावेश गरिनेछन् ।
आयोजकका अनुसार कार्यक्रममा किशोरीहरूको स्वास्थ्य र आत्मविश्वास अभिवृद्धि गर्ने विषयमा विशेष छलफल हुनेछ । साथै, महिनावारीका समयमा अपनाउनुपर्ने सरसफाइ, पोषण तथा मानसिक स्वास्थ्यसम्बन्धी जानकारी पनि प्रदान गरिनेछ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत युवाहरूले नेतृत्व गरेको यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । विद्यालयस्तरमै महिनावारी शिक्षा प्रभावकारी रूपमा फैलाउन सके बालबालिकामा आत्मविश्वास बढ्नुका साथै लैङ्गिक विभेद कम गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । टुँडिखेलमा आयोजना हुने “महिनावारी मेला” लाई स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण अभियानका रूपमा हेरिएको छ । आयोजकले अभिभावक, शिक्षक तथा सरोकारवालालाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।









































Comments