पाल्पामा खाेलाले बगाउँदा दुई जनाको मृत्यु

पाल्पा१७ भदौ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा मोटरसाइकल दुर्घटना भई खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गत भदौ १५ गते बेलुका ६:०० बजे रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय बिपिन पोख्रेल र २३ वर्षीय प्रविन पुन लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा सोही गाउँपालिकाको वडा नं. ८ सत्यवतीतर्फ गएका थिए । त्यसपछि उनीहरू आफन्त तथा परिवारको सम्पर्कमा आएका थिएनन । 

 

खोजतलासका क्रममा भदौ १७ गते आफन्तले अस्थायी प्रहरी पोस्ट बेलबासमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षकको कमान्डमा टोली खटिएको थियो । खोजतलास गर्दा रैनादेवी छहरा–७ डुम्रेवास स्थित सडकबाट करिब ५ फिट तल ठाडो खोलामा उनीहरू सवार मोटरसाइकल फेला परेको थियो । 

 

थप खोजी गर्ने क्रममा दुवै जनाको शव खोलाले बगाएर रुपन्देहीको सैनामैना नगरपालिका–१० मौवाधारी स्थित कञ्चन खोलामा मृत अवस्थामा फेला परेको छ ।

घटनास्थलमा प्रहरी अधिकृत सहितको टोली पुगेर कानुनी मुचुल्का तयार पारी शव परीक्षण (पोस्टमार्टम) का लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

Comments