भदौ २० गते भगवती जात्रा : यातायातमा ५० र होटलमा २० प्रतिशतसम्म छुट

पाल्पा — पाल्पाको ऐतिहासिक २०७ औँ भगवती रथयात्राको अवसरमा भदौ २० गते पाल्पा–बुटवल आवतजावत गर्ने यात्रुले सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत छुट पाउने भएका छन । भगवती जात्राका दिन यात्रुहरूको सहजता र सहुलियतका लागि पश्चिम नेपाल बस व्यवसायी समिति,श्रीनगर यातायात सेवा कम्पनी प्रा लीले पाल्पा र बुटवलबीच चल्ने गाडीको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । पश्चिम नेपाल बस व्यवसायी समितिका व्यवसायी  प्रकाशनाथ गोंङ्गलले जात्रामा सहभागी हुन आउने तथा फर्किने यात्रुलाई लक्षित गरी भाडामा छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

 

रणउजरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले यात्रुहरूको सहजता र सहुलियतका लागि पश्चिम नेपाल बस व्यवसायी समितिसँग समन्वय गरी गाडी भाडामा छुटको व्यवस्था गरिएको बताउनुभयो । समितिका अनुसार छुट सुविधा लिन यात्रुले पाल्पाको तानसेन वा रुपन्देहीको बुटवलमा रहेका टिकट काउन्टरबाटै टिकट काट्नुपर्नेछ । काउन्टरबाट टिकट काट्ने यात्रुले भाडामा ५० प्रतिशत छुट पाउनेछन । 

 

यसैगरी, पाल्पा होटल व्यवसायी संघले पनि भगवती जात्राको अवसरमा होटलको खाना तथा बसाइमा छुट दिने भएको छ । संघका अध्यक्ष लक्ष्मण बस्यालका अनुसार संघमा आबद्ध १ सय १० भन्दा बढी होटलमा खानामा १० प्रतिशत र बसाइमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको छ । भदौ २० गते मनाइँने भगवती जात्रा पाल्पाको प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्व हो । २०७ औँ भगवती रथयात्रामा सहभागी हुन पाल्पा बाहिरबाट समेत ठूलो संख्यामा भक्तजन तथा पर्यटक आउने अपेक्षा गरिएको छ । यातायात र होटल सेवामा दिइएको छुटले जात्रामा आउने यात्रु तथा पर्यटकलाई थप सहज हुने अपेक्षा गरिएको भगवती मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष सोनीत प्रधानले बताउनुभयो । 

Comments