भोटेकोशी बाढीमा सम्पर्कविहीन आनबहादुर कुमालको परिवारलाई कांग्रेस पाल्पाको आर्थिक तथा खाद्यान्न सहयोग
पाल्पा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा सम्पर्क विहीन हुनुभएका रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका आन बहादुर कुमालको परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । कांग्रेस पाल्पाले कुमालको परिवारको घरमै पुगेर नगद १० हजार रुपैयाँ सहित दुई बोरा चामल, तेल, आटा लगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो । परिवारका मुख्य सदस्य नै लामो समयदेखि सम्पर्कविहीन भएपछि उत्पन्न भएको कठिन परिस्थितिमा तत्कालीन आवश्यकतामा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको कांग्रेस पाल्पाले जनाएको छ ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको नेता तथा कार्यकर्ताको टोलीले कुमालका परिवारसँग भेटघाट गरी नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । भेटका क्रममा टोलीले परिवारको अवस्थाबारे जानकारी लिनुका साथै विपद्को यस कठिन घडीमा परिवारलाई आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता जनाएको थियो । सभापति श्रेष्ठले विपद्का कारण परिवारको सदस्य सम्पर्क विहीन हुँदा परिवारजनले भोग्नुपरेको पीडा गम्भीर रहेको बताउँदै दुःखको समयमा पीडित परिवारलाई साथ दिनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले कुमालको खोजी तथा उहाँको अवस्थाबारे यथाशीघ्र सकारात्मक जानकारी प्राप्त होस् भन्ने कामना गर्दै परिवारलाई आवश्यक सहयोगका लागि नेपाली कांग्रेस पाल्पा निरन्तर साथमा रहने बताउनुभयो ।
सशस्त्र प्रहरी बलमा कार्यरत रहनुभएका कुमाल कर्तव्यका क्रममा भोटेकोशी क्षेत्रमा रहनुभएको अवस्थामा नदीमा आएको बाढीपछि सम्पर्क विहीन हुनुभएको परिवारले जनाउनुभएको छ । उहाँको अवस्था हालसम्म स्पष्ट हुन सकेको छैन । ९ देखि सम्पर्क विहीन भएपछि परिवारजन उहाँको सकुशल खोजी तथा उद्धारको आशामा रहनुभएको छ । कुमालको परिवारमा श्रीमती र करिब दुई वर्षका एक छोरा रहेका छन् । परिवारको मुख्य सदस्य नै सम्पर्कविहीन भएपछि श्रीमती सहित परिवारका सदस्यहरू उहाँको अवस्थाबारे निरन्तर चिन्तित रहनुभएको छ । यस्तो अवस्थामा नगदसँगै चामल, तेल, आटा लगायतका खाद्यान्न सामग्री प्राप्त भएपछि परिवारलाई दैनिक जीवनयापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रम्भा–१ का वडा सभापति विष्णु पछाई, नाट्टा पाल्पाका अध्यक्ष राजीव कुमार शाह, तरुण दल पाल्पाका जिल्ला सदस्य कोपिल पाण्डे लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीका क्रममा विभिन्न स्थानमा कार्यरत तथा आवतजावत गरिरहेका नागरिक सम्पर्क विहीन भएका थिए । सोही क्रममा कुमाल पनि सम्पर्क विहीन हुनुभएको परिवारले जनाएको छ ।
नेपाली कांग्रेस पाल्पाले विपद्का कारण समस्यामा परेका नागरिक तथा परिवारको दुःखमा साथ दिँदै आवश्यक सहयोग गर्दै आएको जनाएको छ । यसअघि कांग्रेस पाल्पाले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनुभएका तानसेन नगरपालिका–१० का नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार स्वर्गीय दिपेन्द्र विष्टको परिवारलाई पनि नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । कांग्रेस पाल्पाले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । यता, सम्पर्कविहीन आन बहादुर कुमालको खोजी तथा उहाँको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त हुने परिवार तथा स्थानीयको अपेक्षा रहेको छ ।









































Comments