भोटेकोशी बाढीमा सम्पर्क विहीन रामपुरका सोती परिवारलाई कांग्रेस पाल्पाको २० हजार सहयोग !

पाल्पा- भोटेकोशी बाढीमा परी सम्पर्क विहीन भएका रामपुर नगरपालिका–७ निवासी युवराज (रामु) सोती र अमृत सोतीका परिवारलाई नेपाली कांग्रेस पाल्पाले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस पाल्पाले १० हजार रुपैयाँ र नेपाल महिला संघ रामपुरले १० हजार रुपैयाँ गरी परिवारलाई कुल २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले परिवारलाई भेटेर उक्त रकम हस्तान्तरण गरेको हो । 

 

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा, जिल्ला सहसचिव हमिद मिया, जिल्ला सदस्य हिमाल मल्ल, नेपाली कांग्रेस रामपुर नगरपालिकाका सभापति नेत्र भट्टराई, नेपाली कांग्रेस रम्भा गाउँपालिकाका सभापति ऋषि अर्याल, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष दुर्गेस मल्ल, नेपाल तरुण दल पाल्पाका जिल्ला सदस्य सुमन पछाई र कांग्रेस रामपुर नगर सचिव ओमप्रकाश बस्याल लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा कांग्रेस पाल्पाका सभापति श्रेष्ठले विपद्का कारण परिवारका सदस्य सम्पर्क विहीन हुँदा परिवारजनले भोग्नुपरेको पीडाप्रति आफूहरू दुःखी रहेको बताउनुभयो । उहाँले यस्तो कठिन परिस्थितिमा पीडित परिवारको साथमा उभिनु सबैको दायित्व भएको बताउँदै युवराज (रामु) र अमृत सोतीको सकुशल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति श्रेष्ठले परिवारलाई आवश्यक सहयोगका लागि नेपाली कांग्रेस पाल्पा निरन्तर साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

 

भोटेकोशी बाढीपछि नेपाली कांग्रेस पाल्पाले विपद्मा परेका तथा प्रभावित परिवारलाई सहयोग गर्दै आएको छ । यसअघि बाढीमा परी ज्यान गुमाउनुभएका तानसेन नगरपालिका–१० का नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार स्वर्गीय दिपेन्द्र विष्टको परिवारलाई नगद सहयोग गरेको कांग्रेस पाल्पाले रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरका भोटेकोशी बाढीमा परी सम्पर्क विहीन आन बहादुर कुमालको परिवारलाई समेत नगद तथा खाद्यान्न सहयोग गरेको थियो । 

Comments