बिजु ई. बो. सेकेन्डरी स्कूलको आयोजनामा दुईदिने विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
पाल्पा, जेठ २१ -ईन्टर्याक्ट क्लब अफ बिजु ई. बो. सेकेन्डरी स्कूलको आयोजना तथा बिजु ई. बो. सेकेन्डरी स्कूलको मुख्य सहायतामा दुईदिने विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जेठ २० र २१ गते सञ्चालन भएको उक्त प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघको भुसलडाँडा स्थित कभर्ड हलमा सम्पन्न भएको हो । प्रतियोगितामा नगरभित्रका आठ विद्यालयका ९६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयस्तरमै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने, विद्यार्थीहरूमा खेलभावना विकास गर्ने तथा लुकेर रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले विद्यार्थी तथा अभिभावकको उल्लेखनीय आकर्षण प्राप्त गरेको थियो। दुई दिनसम्म चलेको प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहका खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक वातावरणका बीच खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए । प्रतियोगिताको पुरुषतर्फको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। सेन्ट क्यापिटानियो विद्यालयका समल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयो । उनले प्रतियोगिताभर निरन्तर उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल हुर्नुभयो पुरुषतर्फ आरम्भ रिसालले द्वितीय स्थान प्राप्त गर्नुभयो । त्यसैगरी तृतीय स्थान बिजु स्कुलका कपिल के.सी. तथा ओमन गाहाले संयुक्त रूपमा हासिल गर्नुभयो । महिलातर्फको प्रतिस्पर्धा सेन्ट क्यापिटानियो विद्यालयकी मेघा थापाले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयो । उहाले फाइनलमा आत्मविश्वासपूर्ण खेल प्रस्तुत गर्दै उपाधि जित्न सफल गर्नुभयो । महिलातर्फ निहाना बज्राचार्यले द्वितीय स्थान प्राप्त गर्नुभयो । त्यस्तै बिजु स्कुलकी इच्छा शाक्य र पोलस्टार विस्डमकी आकृति मास्कि रानाले तृतीय स्थान हासिल गर्नुभयो ।
प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बसन्तलाल बज्राचार्य उपस्थित हुनुभएको थियो। उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। विद्यालयस्तरमै खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताहरू नियमित रूपमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो। प्रतियोगितामा विजयी खेलाडीहरूलाई बधाई दिँदै उहाँले आगामी दिनमा प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी रोटरी क्लब अफ पाल्पाका प्रेसिडेन्ट इलेक्ट बिनायक महर्जनले विद्यार्थी जीवनमा अध्ययनसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताउनुभयो। उहाँले खेलकुदले नेतृत्व क्षमता, अनुशासन, धैर्यता र आत्मविश्वास विकास गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो। विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै उहाँले यस्ता कार्यक्रमको निरन्तरतामा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र काजी शाक्यले विद्यालयले गुणस्तरीय शिक्षासँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासका लागि यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।
बिजु ई. बो. सेकेन्डरी स्कूलकी प्रिन्सिपल अनुराधा बज्राचार्यले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने जिल्ला ब्याडमिन्टन संघ, सहभागी विद्यालय, शिक्षक, अभिभावक तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । ईन्टर्याक्ट क्लब अफ बिजु स्कूलका अध्यक्ष रोहित सारूको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो । समापन समारोहको सञ्चालन इच्छा शाक्य र अभिक शाक्यले संयुक्त रूपमा गर्नुभएको थियो। प्रतियोगिताको सफल आयोजनाले विद्यालयस्तरमा ब्याडमिन्टन खेलको विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकको विश्वास रहेको छ। यस्ता कार्यक्रमले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।









































Comments