पाल्पा विद्यालयस्तरीय क्रिकेटमा सेन्ट क्यापिटानियो र विष्णु मावि विजयी
पाल्पाको तानसेनस्थित टुँडिखेलमा सञ्चालन भइरहेको “विद्यालयस्तरीय क्रिकेट च्याम्पियनसिप” अन्तर्गत बिहीबार सम्पन्न खेलहरूमा सेन्ट क्यापिटानियो स्कुल र विष्णु मावि बगनासकाली–२ विजयी भएका छन्। प्रतियोगिताको पहिलो खेल सेन्ट क्यापिटानियो स्कुल र देववाणी संस्कृत तथा साधारण माविबीच भएको थियो भने दोस्रो खेल विष्णु मावि बगनासकाली–२ र महेन्द्रबोध माविबीच सम्पन्न भएको थियो। दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेन्ट क्यापिटानियो स्कुल र विष्णु माविले जित हात पारेका हुन्।
नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त प्रतियोगिताले जिल्लाभरिका विद्यालयहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा भइरहेको प्रतियोगिता एसजी स्पोर्ट्सको मुख्य प्रायोजन तथा क्रिकमाण्डुको सह–प्रायोजनमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा पाल्पा जिल्लाका १५ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय खेलप्रेमी, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जिल्ला क्रिकेट संघ पाल्पाका सदस्य तथा खेल संयोजक पुर्नराज शाक्यले विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास गर्नु, नयाँ प्रतिभा पहिचान गर्नु र खेलाडीलाई उचित प्लेटफर्म उपलब्ध गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउने र भविष्यमा प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुग्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
भोलि शुक्रबार हुने खेलअन्तर्गत पहिलो खेल न्यू होराइजन बोर्डिङ स्कुल र पाल्पा आवासीय बोर्डिङ स्कुलबीच हुनेछ भने दोस्रो खेल बेथल बोर्डिङ स्कुल र पोलस्टार बोर्डिङ स्कुलबीच हुने आयोजकले जनाएको छ। आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। विद्यालयस्तरको यस क्रिकेट च्याम्पियनसिपले पाल्पामा क्रिकेटको आधार बलियो बनाउँदै भविष्यका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।









































Comments