तानसेन–१ मा जेष्ठ नागरिकहरूको भेला, वडा स्तरीय जेष्ठ नागरिक मञ्च गठन

जयराम सापकोटा

तानसेन नगरपालिका वडा नं. १ को आयोजनामा वडा अन्तर्गतका २२ वटा टोल विकास संस्थामा आबद्ध ६० वर्षमाथिका जेष्ठ नागरिकहरूको भेला सम्पन्न भएको छ। वडा अध्यक्ष सुनिल कुमार बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब १७५ जना जेष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेलाले जेष्ठ नागरिकहरूको अधिकार, सम्मान, सुरक्षा तथा सामाजिक सहभागिताका विषयमा व्यापक छलफल गर्नुका साथै वडा स्तरीय जेष्ठ नागरिक मञ्च गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकहरू समाजका गहना, अनुभवका भण्डार तथा घरघरका जीवित भगवान भएको उल्लेख गर्दै उनीहरूको सम्मान र सुरक्षामा परिवार, समाज तथा राज्य सबैको समान दायित्व रहेको बताउनुभयो। उहाँले जेष्ठ नागरिकहरूको ज्ञान, अनुभव र योगदानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पाल्पाकी कोषाध्यक्ष शारदा कर्माचार्य, सदस्य पोषकान्त बस्याल, जुद्धबहादुर थापा लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

 

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जेष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाको इतिहासबारे जानकारी गराउनुभयो। उहाँका अनुसार २०६३ सालको मुलुकी ऐनले जेष्ठ नागरिकका अधिकारलाई कानुनी रूपमा सम्बोधन गरेको थियो भने २०६७ सालमा केन्द्रमा र २०६९ सालदेखि पाल्पामा जेष्ठ नागरिक मञ्च गठन भई सक्रिय रूपमा काम गर्दै आएको छ । उहाँले अब प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिकको हकहित, संरक्षण र सम्मानका लागि सशक्त सञ्जाल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वडा तथा पालिकाहरूले आवश्यक बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिकहरूलाई उपलब्ध स्वास्थ्य सेवासम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो । अध्यक्ष ढकालले जेष्ठ नागरिक मञ्च पाल्पा र लुम्बिनी मेडिकल कलेजबीच भएको सम्झौताअनुसार जेष्ठ नागरिकहरूले विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक परिचयपत्रका आधारमा ओपिडी टिकट निःशुल्क, बेड चार्जमा ५० प्रतिशत, अपरेशन शुल्कमा २० प्रतिशत, मुटुरोग उपचारमा १५ प्रतिशत तथा डेन्टल सेवामा ५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । उहाँले हालसम्म परिचयपत्र नबनाएका जेष्ठ नागरिकहरूलाई नागरिकता र दुई प्रति फोटोसहित सम्बन्धित पालिकामा गई जेष्ठ नागरिक परिचयपत्र बनाउन आग्रह गर्नुभयो ।

 

भेलाले ठाकुरध्वज कार्कीको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय जेष्ठ नागरिक मञ्च गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा लक्ष्मी अर्याल, सचिवमा कमलराज शर्मा तथा कोषाध्यक्षमा देविदत्त शर्मा चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा लिलादेवी न्यौपाने, कुलबहादुर पौडेल, रामबहादुर विक, कृष्ण जीआर, दीपा गहतराज, वीरबहादुर तामाङ र मिना हमाल रहनुभएको छ। नवगठित समितिलाई जेष्ठ नागरिकहरूको हकहित, सामाजिक सुरक्षा, सम्मान र सक्रिय सहभागिताका लागि काम गर्ने जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रम नगर कार्यपालिका सदस्य मञ्जु विकको स्वागत मन्तव्य तथा वडा सदस्य रामप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथि देवराज ढकालले नवनिर्वाचित अध्यक्ष ठाकुरध्वज कार्कीलाई जेष्ठ नागरिक मञ्चको विधान, लुम्बिनी मेडिकल कलेजसँग भएको स्वास्थ्य सेवा सम्झौताको प्रतिलिपि तथा माइन्युट बुक हस्तान्तरण गर्नुभएको थियो ।

Comments